Aafno Khabar

नेपालमा पनि देखिन थाल्याे भारतमा आएकाे शक्तिशाली चक्रवातकाे असर

  • आफ्नो खबर
  • May 17, 2021 प्रकाशित

काठमाडाैं । भारतमा आएकाे शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर देखिन थालेकाे हाे ।

चक्रवातकाे प्रभाव देशको पश्चिम क्षेत्रसहित काठमाडाैं उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार चक्रवातको असरका कारण देशको पश्चिमी आकाशमा माथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ । यसकाे प्रभाव बढ्दै जाने उनकाे भनाइ छ ।

चक्रवातकाे विषयमा मौसम पूर्वानुमान महाशाखाले आइतबारै साँझ विशेष बुलेटिन जारी गरेर सचेत गराइसकेकाे छ ।

महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा अति शक्तिशाली चक्रवात विकास भएको हो । भारतमा जसको नाम ‘ताउतेइ’ (TaukTae) राखिएको छ ।

चक्रवातकाे प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने माैसमविद्हरुकाे भनाइ छ ।

यो चक्रवातका कारण भारतमा आइतबारदेखि नै क्षति हुन थालिसकेको छ । साेमबार यो चक्रवात अरब सागरबाट भारतको गुजरातमा आइपुग्ने अनुमान त्यहाँका मौसमविद्ले गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।