काठमाडाैं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले यौन दुर्ववहारको आरोप खेपिरहेका मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङलाई बचाउ गर्ने मनसायका साथ विभागका पूर्व प्रमुखहरुले जारी गरेको विज्ञप्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन् ।
समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी गरी प्राध्यापकमाथि लागेको लागेको यौन दुर्ववहारको आरोप निश्पक्ष छानवीन हुनुपर्ने बताएका छन् ।
उनले विचाराधीन मुद्धालाई प्रभावित गर्ने हिसाबले बन्द कोठाबाट विज्ञप्ति जारी गर्दै नहिँड्न पूर्व विभागीय प्रमुखहरुलाई चेतावनी पनि दिएका छन् । “अवान्छित ढङ्गले पीडितलाई मिल्न उपदेश दिँदै अँध्यारो कोठाबाट बक्तब्यबाजी नगर्न हामी समाजशास्त्र/ मानवशास्त्रका तीनजना पूर्व प्रमुखहरु लाई सचेत गराउन चाहन्छौं । साथै, कुनैपनी न्यायपूर्ण समाजमा पाच्य नहुने उहाँहरुको गैह्र न्यायिक कदमप्रती खेद व्यक्त गर्दछौं”, विज्ञप्तिमा भनिएको छ । यसअघि समाजशास्त्र/ मानवशास्त्र विभागका तीनजना पूर्व प्रमुखहरु प्रा डा.ओम गुरुङ, प्रा.डा. रामबहादुर क्षेत्री र प्रा.डा पदमलाल देवकोटाले घटनालाई मिलाउन दबाब दिँदै संयुक्त बक्तव्य जारी गरेका थिए ।
आराेपित विषय समझदारीबाट सल्टाउनुपर्नेमा प्रहरी प्रशासनमा उजुरी दिनुलाई उनीहरूले अशाेभनीय कार्यकाे संज्ञा दिएका थिए । उजुरबाजुर गर्दा आराेपितकाे चरित्र र संस्थाकाे छविमा दाग लाग्ने दाबीसमेत पूर्वप्रमुखहरुकाे रहेकाे थियाे ।
यस्तै, विद्यार्थीहरुले मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङलाई पनि निश्पक्ष न्यायिक प्रक्रियामा समावेश हुन सुझाव दिँदै पीडित भनिएकी महिलालाई अपशब्द बोल्ने र लान्छित गर्नेजस्ता अराजक गतिविधि नगर्न चेतावनी दिएका छन् । विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय यौन दुर्ववहार स्थलमा परिणत भएको भन्दै यस्तो वातावरण बदल्नका लागि दबाब दिन नागरिक समाज, पत्रकार, बुद्धिजिवीलगायत न्यायप्रेमी समुदायलाई अपिलसमेत गरेका छन् ।