काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले नै २२ गतेबाट एक साता थप निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रमुख जिल्लाअधिकारीहरुको बैठकले पनि निर्णय गरेको हो ।
मंगलबारकाे बैठकले बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । अब बेलुका पसल खोल्न नपाइने भएको छ ।
थप भएको निषेधाज्ञा अवधिमा अनावश्यक रुपमा हिड्डुल गर्न पनि नपाइने भएको छ । मानिस सडकमा अनावश्यक हिँडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्नेछ ।
नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेपछि संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो ।