काठमाडाैं । राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।
पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ । फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।
सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक–पटक आग्रह गर्दै आएका छन् ।
आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ ।