Aafno Khabar

९ दिनसम्म बालिकालाई कोठामा बन्धक बनाई करणी गर्ने दुईजना पक्राउ

  • आफ्नो खबर
  • March 24, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

रुकुम । बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा रुकुमपूर्वमा दुई जना पक्राउ परेका छन् । १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी करणी गरेको आरोपमा रुकुमपूर्वका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय पुरुष र १४ वर्षीय बालक रहेका छन् । गत चैत्रको १ गते घरबाट हराएका बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको थियो । निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र सोही दिनै अभियुक्त दुई जनालाई रुकुमकोटबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई बालिकालाई २३ वर्षको पुरुषको कोठामा शरीर बन्धक बनाइ जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकाहरूमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

‘बालिकाहरुलाई बिहान ५ बजे दिसा पिसाब गराउनको लागि आफैं ट्वाइलेट पुर्‍याउने र त्यसपछि दिनभरि कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ । बालीकाहरू रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर नियन्त्रणमा राखेको खुलेको छ । अभियुक्त दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । बालिकाहरूको स्वास्थ्य परीक्षण भइरहेको र प्रहरीको संरक्षणमा राखिएको छ ।