Aafno Khabar

नियम उल्लघंन गरेकोमा नर्वेकी प्रधानमन्त्रीले मागिन् माफी

  • आफ्नो खबर
  • March 21, 2021 प्रकाशित

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित उनी नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् ।

उक्त नगरपालिका र केन्द्रले कोरोना नियन्त्रणको लागि निजी भेटघाट तथा गतिविधिमा १० जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरेको छ ।

प्रधानमन्त्री सोल्वेग १४ जना पारिवारिक सदस्यसहित दुई दिनको लागि कोल नगरपालिकाको एक रेस्टुरेन्टमा पुगेकी थिइन् । व्यक्तिगत गतिविधिको लागि १४ जना जम्मा हुनुले सरकारबाट जारी गरिएकै नियमको सरकार प्रमुखले नै उल्लंघन गरेको थाहा पाएर नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।

रिपोर्ट सार्वजनिक भएपश्चात् एनआरकेसँग कुराकानी गर्दै उनले आफूबाट गल्ती भएको भनेर माफी मागेकी छिन् । ‘म प्रत्येक दिन कोरोना संक्रमणको लागि काम गर्ने तथा नियम बनाउने गर्दछु’ उनले एनआरकेसँग कुराकानी गर्दै भनेकी छिन्, ‘यस अर्थमा पनि मैले नियम राम्रोसँग थाहा पाएर कार्यान्वयन गर्नुपर्ने हो । तर, मैले नियमहरूको राम्रोसँग याद नगर्दा गल्ती हुनगयो । म माफी चाहन्छु ।’

राम्रोसँग नियमको अध्ययन नगर्दा आफूबाट गल्ती हुन गएको उनको भनाइ छ । नर्वेका नागरिकले नियमको पूर्ण पालना गरेको र आफूबाट उल्लंघन भएको हुँदा नागरिक रिसाएको भन्दै उनले आफूबाट भएको गल्तीको नागरिकसरह नै कानूनी कारबाही भोग्न समेत तयार रहेको बताएकी छिन् ।