Aafno Khabar

नजरबन्द पत्नी तीन वर्षको संघर्षपछि भेट्न पाउँदा…

  • एजेन्सी
  • December 14, 2020 प्रकाशित

काठमाडौं । तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्द आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन् ।

बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुशीको दिन थियो । किनकी तीन वर्षदेखि विछोडमा परेका उनले आफ्ना पत्नी नादिला वुमाएर र ३ वर्षकी छोरा लुत्फीसँग सिड्नीमा भेट गर्न पाए । कूटनीतिक सम्झौतापछि सद्दामको परिवारले चीन छाड्ने अनुमति पाएको हो ।

वुमाएर पनि चीनको अल्पसंख्यक ‘विगर मुसलमान’ समुदायकी हुन् । उनका अनुसार उनी यसअघि घरमा नजरबन्द थिइन् । तीन वर्षपछि जब शुक्रबार सिड्नी एयरपोर्टमा पारिवारिक पुनर्मिलन भयो, तब सबैका निम्ति भावुक क्षण बन्यो ।

उनले यो सुन्दर क्षण क्यामेराका कैद गरी सधैंका लागि साँचेका छन् । यो नै सद्दामका लागि छोरो देख्ने पहिलो अवसर थियो । उनको छोरोको जन्म सन् २०१७ मा भएको थियो ।

तीन वर्षको विछोडको कथा

सद्दाम एक दशकदेखि अस्ट्रेलियामा बसिरहेका थिए । सन् २०१६ मा उनी आफ्नी प्रमिका वुमाएरसँग बिहे गर्न चीन गए । त्यसपछि सन् २०१७ मा उनी अस्ट्रेलिया फर्किए । उनकी श्रीमती भने आफ्नो भिसा (वैवाहिक भिसा) का लागि चीनमै रोकिइन् । त्यही वर्ष छोराको जन्म भयो । तर चीन सरकारले सद्दामलाई भिसा दिएन ।

छोराको जन्म भएको केही समयपछि वुमाएरलाई हिरासतमा राखियो । २ हप्तापछि उनी रिहा भइन्, तर उनको भिसा जफत गरियो र उनलाई घरमै नजरबन्दमा राखियो । उनलाई घर छाड्ने अनुमति दिइएन । पछिल्ला २ वर्षमा अस्ट्रेलिया सरकारले चीन सरकारसँग सद्दाम र उनकी पत्नी तथा छोराको रिहाइका लागि धेरै पटक अनुरोध गर्‍यो तर कुनै नतिजा निस्किएन ।

एकातर्फ सद्दाम अस्ट्रेलियन नागरिक भए पनि उनकी पत्नीसँग अस्ट्रेलियाली नागरिकता छैन । तर सद्दामको अनुरोधपछि उनका छोरालाई अस्ट्रेलियाली नागरिकता दिइयो ।

चीनका अधिकारीले यस वर्षको फेब्रुअरीमा भनेका थिए, सद्दाम र वुमाएरको विवाह कानुनी हिसाबले मान्य छैन र वुमाएरले पनि चीनमै बस्ने इच्छा व्यक्त गरेकी छन् । चीनका एक अधिकारीले अस्ट्रेलियाली टीभी अन्तर्वार्तामा यसरी भनेपछि सद्दामले आफ्नी पत्नी र छोराको तस्बिर ट्वीट गरे, जसमा वुमाएरको हातमा देखिएको कागजमा लेखिएको थियो, म जान चाहन्छु र आफ्ना पतिको साथमा बस्न चाहन्छु ।

बीबीसीबाट