Aafno Khabar

गाउँको नाम अश्लील भएपछि नाम परिवर्तन गरिने

  • आफ्नो खबर
  • December 6, 2020 प्रकाशित

कुनै पनि गाउँको नाम अश्लीलता झल्काउने भयो भने आफ्नो गाउँको नाम बताउन असहज हुन्छ । युरोपेली देश अष्ट्रियाका एक गाउँका नागरिकले यस्तो समस्या भोगिरहेका छन् । अब यो गाउँको नाम परिवर्तन गरिनेछ । अहिले यो गाउँको नाम (F***ing) हो ।

जर्मन अखबार डायचे वेलेका अनुसार अब यो गाउँको टाउन काउन्सिलले गाउँको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको छ । जनवरी १ देखि यो गाउँको नाम फगिंग (Fugging) हुनेछ । यहाँका मेयर आन्द्रिया होल्जनरका अनुसार बाहिरबाट आउने पर्यटकले जब यो गाउँको नामबारे थाहा पाउँथे त्यसपछि यो गाउँको सीमामा राखिएको साइनबोर्डमा गएर फोटो खिचाउँथे । ती तस्वीरलाई सामाजिक संजालमा पोस्ट गर्थे जसका कारण गाउँको बेइज्जती भइरहेको थियो ।

रिपोर्टका अनुसार अष्ट्रियाको इन्भर्टेल क्षेत्रको टार्सडर्फ नगरपालिकाभित्र यो गाउँ पर्छ । यो गाउँ साल्जबर्ग शहरबाट ३३ किलोमिटर टाढा छ । यो जर्मनीको सीमासँग जोडिएको छ । यो गाउँमा पर्यटकको आवतजावत २००५ देखि बढ्न सुरु भएको हो जतिबेला मानिसहरुले यो गाउँको सीमामा रहेको साइनबोर्डसँग तस्वीर खिचेर सामाजिक संजालमा पोस्ट गर्न थालेका थिए । केहीले त साइनबोर्ड नै चोरी गरेका थिए ।

२०२० मा भएको जनगणनाअनुसार यो गाउँमा ३२ घरमा १०६ जना नागरिक छन् ।