काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको स्थानीयले बताएका छन् । हुम्लाको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।
हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्याधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।