काठमाडौं । मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाएर फिरौती असुल्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । ४४ वर्षीय श्रेष्ठ मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन सन्चालन गरेर बस्ने गरेको र नेपाल आएको अवस्थामा उनलाई मंगलबार सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो ।
श्रेष्ठ र उनकी श्रीमती भुटान माइती भएकी धनमाया श्रेष्ठ तथा सवारी चालक मिलेर दाङको पहरुवाका मध्मम रैदासलाई मलेसियामा अपहरण गरेको जाहेरी परेको थियो ।
उनीहरुले ७ दिनसम्म बन्धक बनाएर दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको हिमालयन बैंकको खातामा ६० हजार रिंगेट जम्मा गरिदिनु भन्दै उनकी श्रीमतीलाई पटकपटक धम्की दिदै आएका थिए ।
रकम जम्मा नगरे श्रीमानलाई मारिदिनेसमेत धम्की दिएपछि श्रीमानको ज्यान जोगाउन उनले पटक–पटक गरी १५ लाख ९२ हजार रुपैयाँ श्रेष्ठको खातामा जम्मा गरेकी थिइन् ।
रकम जम्मा गरेपछि उनीहरुले रैदासलाई अपहरणमुक्त गरे पनि पासपोर्ट कब्जा गरेर नेपाल फर्किन दिएका थिएनन् ।
दुर्गाबहादुर हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा बा १४ च २११२ नं. को भक्सवागन कम्पनीको जिपमा चढी बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा कान्ति बाल अस्पताल नजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।