काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।
कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस–माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात–आठ महिना ढिला भए पनि परीक्षा हुने विभागको भनाई छ ।
ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् ।
श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् ।
शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ । नेपालबाट वार्षिक औसतमा आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको नौ महिनामा एक हजार २७ जना नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ ।