Aafno Khabar

भारतमा ८६ वर्षकी वृद्धा बलात्कृत

  • एजेन्सी
  • September 10, 2020 प्रकाशित

भारतको राजधानी दिल्लीमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । ती व्यक्ति हाल प्रहरीको नियन्त्रणमा रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भए ठाउँ पुगे । उनले दुध ल्याउने व्यक्ति आज नआउने र दुध पाइने स्थानसम्म लगिदिने बताए । त्यसपछि वृद्धाले त्याे व्यक्तिमाथि विश्वास गरी साथमा गइन् ।

त्यसपछि ती व्यक्तिले नजिकको खेतमा लगेर बलात्कार गरे । उनी रोइरहिन् र छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् ।

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि बचाउन गए । उनीहरुले नै अभियुक्त प्रहरीलाई बुझाएका हुन् । स्वाति मालिवालका अनुसार पीडित वृद्धाकाे हातभरी चाउरी थिए । उनको अनुहार र शरीरमा चोटका निशान थिए । उनी निकै भयभित छिन् । स्वाति मालिवालले अभियुक्तका लागि मृत्युदण्डको माग गरेकी छिन् ।