Photo Credit : STR/AFP VIA GETTY IMAGES
काठमाडौं । गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिसकेको छ ।
अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६ लाख नाघेको छ । ८ लाख ७५ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । कोरोनासँग लड्ने कुनै पनि किसिमको भ्याक्सिन वा औषधि अहिलेसम्म बन्न सकेको छैन ।
गएको अगस्ट ११ मा रुसले कोरोनाको पहिलो भ्याक्सिन स्पुतनिक–भी तयार गरेको दाबी गर्यो । मेडिकल साइन्समा एउटा ठूलो सफलता हासिल गरेको उसको दाबी छ । तर, आलोचकहरुले भने क्लिनिकल ट्रायलको तेस्रो चरण नै पूरा नगरी तयार भएको भ्याक्सिन सफल नहुने दाबी गरिरहेका छन् ।
विश्वका थुप्रै देशमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ३४ वटा कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेका छन् । यीमध्ये सातवटा भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल जारी छ ।
तीन वटा कम्पनी तेस्रो चरणको परीक्षणमा छन् । डब्लूएचओका अनुसार अन्य १४२ वटा कम्पनी पनि कोरोनाको भ्याक्सिन बनाइरहेका छन्, जुन प्रि–क्लिनिकल चरणमा छन् ।
डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार अक्सफोर्ड युनिभर्सिटीले तयार गरेको भ्याक्सिन अहिलेसम्मको सबैभन्दा उन्नत भ्याक्सिन हो । बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गैलाघर भन्छन्, ‘जानकारहरुका अनुसार उक्त भ्याक्सिन २०२१ को मध्यसम्ममा आम मानिसका लागि उपलब्ध हुनेछ ।’
केही महिनामै कोरोनाको भ्याक्सिन बन्नेमा वैज्ञानिकहरु आशावादी छन् । तर यसको मूल्यको विषयमा पनि सर्वत्र चासो छ । साथै कोरोना भाइरसबाट पूर्ण रुपमा बच्न कतिपटक भ्याक्सिन लगाउनुपर्ला भन्ने चिन्ता पनि छ ।
कुन खाेपकाे मूल्य कति ?
एस्ट्राजेनेकाको भ्याक्सिन
अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन बनाइरहेको कम्पनी एस्ट्राजेनेकाले सुलभ मूल्यमा आम मानिसका लागि भ्याक्सिन उपलब्ध गराउने बताएको छ । भ्याक्सिनबाट नाफा नकमाउने पनि उसको दाबी छ।
गत महिना कम्पनीका मेक्सिको प्रमुखले ल्याटिन अमेरिकी देशमा एस्ट्राजेनेकाको भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा कम हुने बताएका थिए।
भारतमा उक्त भ्याक्सिन बनाइरहेको कम्पनी सीरम इन्स्टिच्युटले भारत तथा विकासशील देशका लागि भ्याक्सिनको मूल्य प्रतिडोज तीन डलर हुने बताएको छ । अष्ट्रेलियाले कोरोनाको भ्याक्सिन नागरिकका लागि निःशुल्क हुने बताएको छ।
सनोफी पाश्चरको भ्याक्सिन
फ्रान्सकाे सनोफीका प्रमुख ओलिवियर बोगिलोटले पाश्चरको भ्याक्सिनको मूल्य प्रतिडोज १० युरोभन्दा कम हुने बताएका छन् । अर्को महिना (अक्टोबर)देखि भ्याक्सिन उत्पादन हुने उनले बताएका छन् ।
साइनोफार्मको भ्याक्सिन
चीनको औषधि कम्पनी साइनोफार्मका अध्यक्ष लिऊ जिंन्गजेनका अनुसार कम्पनीले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भइसकेको छ। बजारमा यसको मूल्य प्रतिडोज १ हजार चिनियाँ युआनभन्दा कम हुने उनले बताइएकाे छ ।
मोडर्नाको भ्याक्सिन
मोडर्नाले बनाएको कोरोना भ्याक्सिन ३३ देखि ३७ डलरमा उपलब्ध हुने बताइएको छ। सकेसम्म कम मूल्यमा भ्याक्सिन उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
फाइजरको भ्याक्सिन
फाइजरले उत्पादन गरेको भ्याक्सिन सरकारका लागि प्रतिडोज १९.५० डलरमा बेच्ने कम्पनीले बताएको छ । आम मानिसका लागि भने यसको मूल्य ४० डलरसम्म पर्न सक्ने अनुमान गरिएकाे छ ।
बीबीसी हिन्दीकाे सहयाेगमा ।