म्याग्दी । म्याग्दीमा थप ४ जनामा डेंगुका बिरामी थपिएका छन् । योसँगै म्याग्दीमा डेंगु संक्रमितहरुको संख्या ३७ पुगेको छ ।
शरीरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरुको बेनी अस्पतालमा परीक्षण गर्दा डेंगु पोजिटिभ भेटिएको हो ।
हाल सम्म बेनी अस्पतालमा आएका ३७ जनामा डेंगु पुष्टि भएको भएपनि सुरक्षा व्यवस्थामा ध्यान नदिएको कारणले गर्दा थप जोखिम बढ्दै गएको जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–५ की महिला र अन्नपुर्ण ६ का महिलालाई डेङ्गु संगै स्क्राबटाइफसको समेत संक्रमण रहेको बेनी अस्पतालले जनाएको छ ।
मुसामा हुने परजीवीको टोकाइबाट लाग्ने टाइफसका बिरामी समेत म्याग्दीमा बढ्दै गएका छन् । हाल सम्म बेनी अस्पतालमा उपचारका लागि आएका ३७ जनामा डेङ्गु र १२ जनामा स्क्रबटाइफसको संक्रमण पुष्टि भएको छ ।