काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारदेखि पुनः सुरु चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको गत सोमबारबाट विदेशबाट नेपाली ल्याउन रोक लगाइएको थियो ।
मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउने छ ।
बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउनेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । यो दिन नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु ल्याउने छ ।
त्यही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले बोकेर काठमाडौं ल्याउने गरी तालिका तय गरिएको छ । सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यसअगाडी ८ दिन उद्धार उडान हुन लागेको हो ।
याे पनि पढ्नुहाेस् ।
उद्धार उडान फेरि सुरु, यस्ताे छ होटल क्वरेण्टीनको सूची र मूल्य विवरण
अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।
वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैँले बेहोर्नुपर्छ ।