एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । उनले बोलेको कुरा गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइ सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी भएकाे बताएकी छिन् ।
राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन् । मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ । कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले यस्ताे रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन् ।
‘हे भगवान् ! उसको ट्वीट र झुट । यो नक्कलीपना र निर्दयीपना,’ श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ । उक्त श्रव्य सामग्री सुरुमा द वाशिङ्टन पोस्ट पत्रिकाले बाहिर ल्याएको थियो । त्यसपछि समाचारसंस्था एपीले पनि प्राप्त गर्यो ।
गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासी नीतिको आलोचना गरेकी छन् जसका कारण सीमामा भएका हिरासत केन्द्रमा बालबालिकाले थुनिनुपर्यो । ‘उनी केवल आफ्ना समर्थकले चाहेको जस्तो गर्न चाहन्छन्,’ ब्यारीले भनेकी छिन् ।
विगतमा ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन्। आफ्नो शल्यक्रिया हुँदा भाइले हरेक दिन अस्पतालमा भेट्न आएको उनले स्मरण पनि गरेकी थिइन् ।