Photo Credit : Reuters
दक्षिण काेरिया । दक्षिण काेरियाका पूर्व कुटनीतिज्ञ चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।
पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न दाबी भइरहेका छन् । दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा सुरु हुन थालेको छ ।
दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएकाे द काेरिया हेराल्डले उल्लेख गरेकाे छ । उनका अनुसार किमका बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा छिन् ।
अघिल्लाे सातामात्र किमले आफ्नी बहिनी सत्ताकाे दाेस्राे स्थानमा पुर्याएकाे दाबी गरिएकाे थियाे ।
किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिति जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेकाे छ । तर उक्त तस्बिर झुठाे भएकाे पनि दाबी गरिएकाे छ ।
गएकाे अप्रिलमा किम जाेङ उनकाे मुटुकाे शल्यक्रिया गरिएकाे थियाे । त्यसबेला उनकाे स्वास्थ्य बिग्रिएकाे जनाइएकाे थियाे । कतिपयले त्यतिबेला उनकाे मृत्यु भएकाे समेत उल्लेख गरेका थिए । तर उनकाे मृत्युकाे दाबी गरिएका समाचार झुठाे साबित भएका थिए ।