काठमाडौं । एक १७ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणीपछि भारतमा लगेर बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट तादी गाउँपालिका -३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थली बस्दै आएका वर्ष २२ का अर्पण तामाङ भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गरेकाे हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहरेको छ । साउन २९ गते पीडित बालिकाले मानव बेचबिखन ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले बालिका बेचबिखनमालाई खोजी गरिरहेको थियो ।
तामाङले बालिकालाई माया गर्ने र बिहे पनि गर्ने भनी प्रलोभन देखाई प्रेमजालमा फसाएर सुरुमा गोंगबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।
त्यसपछि तामाङले आफ्नो साथीको जिम्मा लगाएका थिए । साथीले गोगंबुबाट ट्याक्सी चढाइ चितवनको नारायणघाट हुँदै काँकडभिट्टा सीमा नाकाबाट भारतीय अपरिचित (नाम नखुलेको) पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
ती भारतीय पुरुषले पीडितलाई अश्लील भिडियो देखाएर भिडियोमा जसरी करणी गरौँ भन्ने गरेको र पैसा तिरेर किनेको भन्दै समयसमयमा डर त्रास धाकधम्की दिने गरेको बालिकाले प्रहरीमा बयान दिएकी छिन् ।
भारतीयले समय समयमा शारीरिक तथा मानसिक पीडा दिंदै रोजगार लगाई दिने बहानामा भारतको विभिन्न ठाँउमा लाने गरेकोमा पीडित बालिकाले आफूलाई बेचिएको महसुस गरेपछि भागेर अपरिचित नेपालीको सम्पर्कमा पुगेकी थिइन् । उनले नै २०७६ असोज महिनामा कैलाली जिल्लाको टीकापुरमा रहेको इलाका प्रहरी कार्यालयलाई बुझाएका थिए ।