Aafno Khabar

काेराेना खाेपकाे विषयमा रुसकाे जवाफ : विश्वभर भइरहेकाे चिन्ता ‘आधारहीन’

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

तस्बिर : गेट्टी इमेजेज ।

कोरोना भाइरस सङ्क्रमणविरूद्ध  रुसले बनाएकाे खाेपका विषयमा विश्वभर भइरहेकाे चिन्ता ‘आधारहीन’ भएकाे रुसले बताएकाे छ ।

रुसले मङ्गलबार देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध रुसमा विकसित एउटा खोपका लागि स्वीकृति प्रदान गरेको बताएको थियो ।

उक्त खोप २ महिनाभन्दा कम समयकम मानिसहरूमा परीक्षण गरिएको छ । जर्मनी, फ्रान्स, स्पेन र अमेरिकालगायत देशका विज्ञहरूले रुसले यति छिटाे खोप बनाएकोप्रति शंका गरेका छन् ।

बुधवार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँगकाे कुराकानीमा रुसी औषधि  प्रतिस्पर्धामा जाने भएकाले यस्ता आधारहीन कुरा बाहिर आइरहेकाे आराेप लगाए ।

उनले खोप चाँडै नै उपलब्ध हुने बताए । उनले अब २ सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकमा दिइने जानकारी दिए ।

रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको पनि बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार खोप बनेको घोषणा गरेका थिए । उनले आफ्नी एउटी छोरीमा पनि उक्त खोप दिइएको बताए ।

रुसी खोपबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ ।

जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, ‘लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो किनकी यदि त्यसमा केही खराबी भएमा मानिसहरूको खोपप्रतिको विश्वास नै हराउनेछ।’

अमेरिकाका वरिष्ठ भाइरस रोगका चिकित्सक डा. एन्टोनी फाउचीले पनि रुसी दाबीप्रति आशङ्का व्यक्त गरेका छन् ।