एजेन्सी। कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको रुसले दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप विकासमा रुस सफल भएको र त्यसलाई प्रयोगमा ल्याएको दाबी गरे ।
आफ्ना दुई छोरीलाई कोरोनाविरुद्धको खोप लगाएको र उनीहरुलाई कुनै पनि समस्या नदेखिएको पुटिनले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाविरुद्धको खोप मंगलबार दर्ता गरेको रुस खोप दर्ता गर्ने पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।
समाचार एजेन्सी एजेन्सी एएफपीको जानकारी अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताएका छन । रुसले बिकास गरेको खोपलार्ई डब्लूएचओले भने मान्यता दिइसकेको छैन् ।
अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कैयौँ ठाउँमा परीक्षण भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खोप बनाउनको लागि काम भइरहेको छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् ।
रुसमा अहिलेसम्म ८ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण त्यहाँ १५ हजार १ सयभन्दा धेरैको मृत्यु भएको छ ।