Aafno Khabar

बिहान उठ्दा छेउमा सुतेका श्रीमान हराएपछि…

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन् ।

राजनले केही महिनाअगाडि एक महिलासँग चिनजान गरेका थिए । उनले ती महिलालाई आफ्नो नाम पनि राजन श्रेष्ठ बताएका थिए ।

फोनमा कुरा गरेपछि उनीहरूको भेट भयो। केही समयको भेटघाट पछि राजनले ती महिलालाई विवाह गर्ने प्रस्ताव राखे ।

ती महिलाले पनि राजनले आफूलाई प्रेम गर्ने ठानेर विवाह प्रस्तावलाई स्वीकारिन् । उनीहरूले विवाह गरे । साउन १६ देखि २१ गतेसम्म उनीहरू डेरामा बसेको प्रहरीले जनाएकाे छ ।

गत बुधबार बिहान पाँच बजेतिर महिला उठ्दा छेउमा सुतेका राजन त थिएनन् । उनले दराज खोलेर हेरिन् । बल्ल थाहा भयो- राजनले त उनलाई झुठो आश्वासन देखाएर विवाह गरेका रहेछन् अनि पैसा लुटेर भागेछन् ।

उनले आफूमाथि विवाहको वहानामा पटक-पटक बलात्कार भएको तथा ठगिएको महसुस गरेपछि उजुरी दिइन् । उजुरीका आधारमा राजन पक्राउ परेका हुन् ।

राजनले दराजबाट २ लाख नगद, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ, र एक थान मोबाइल लिएर फरार भएका थिए।

पक्राउ परेका राजनमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम जबर्जस्ती करणी तथा ठगी कसुरमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।