काठमाडौं । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरे पनि जनमानसमा फरक अफवाह फैलिएको छ । काठमाडौं उपत्यकामा आइतबारदेखि फेरि लकडाउन हुन लागेको भन्दै व्यवसायीदेखि सर्वसाधारणसम्म आत्तिएका छन् ।
वास्तवमा उपत्यका ‘सटडाउन’ नभएर जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रवाह हुने केही सेवामात्र बन्द हुने भएको हो । अर्थात् जिल्ला प्रशासनको केही सेवाहरुमात्र ‘सटडाउन’ हुने भएको हो ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कार्यालयमा भीडभाड बढेको भन्दै १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला प्रशान कार्यालय काठमाडौंबाट शुक्रबार प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जारी गरिएको सूचनामा साउन २५ गतेबाट भदौं ८ गतेसम्मका लागि नागरिकता वितरण लगायत ८ वटा सेवाहरु बन्द हुने उल्लेख गरिएको छ ।