Aafno Khabar

एयर इण्डिया विमान दुर्घटना : १७ जनाको मृत्यु (अपडेट)

  • आफ्नो खबर
  • August 8, 2020 प्रकाशित

तस्बिर : ईपीए

भारतमा शुक्रबार एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ । दुबईबाट शुक्रबार साँझ आएको विमान केरल राज्यको कोझिकोड विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १७ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानमा चालकदलका सदस्यसहित १ सय ९० जना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि विमानमा १ सय ९१ जना रहेको जनाइएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १ सय २८ जना पुरुष, ४६ जना महिला, ६ जना चालकदलका सदस्य र १० जना बालबालिका रहेका थिए । विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त विमान २ टुक्रा भएको जनाइएको छ ।

जोखिमपूर्ण विमानस्थलमा भारी वर्षाका कारण विमान दुर्घटना भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार कोझिकोड विमानस्थल एक टेबल टप विमानस्थल हो । यस्तो विमानस्थल पहाडी क्षेत्रमा हुने र उडान तथा अवतरण जोखिमपूर्ण हुने पनि बताइएको छ ।