सिन्धुपाल्चाेक । यतिबेला नेपाल विद्युत प्राधिकरण कुशल प्रशासक कुलमान घिसिङको नेतृत्वमा छ। बर्सेनि अरबौँ घाटा ब्यहोरेको प्राधिकरणलाई आफ्नो असल ब्यवस्थापन क्षमता प्रदर्शन गरेर फाइदामा लगेको र लोडसेडिङ समस्या समाधान गरेकोमा सर्वत्र तारिफ गरिएका घिसिङलाई बेला–बेला आफ्नै कर्मचारी र विभागले असहयोग गरेको र दु:ख दिएको उदाहरण पनि बाहिर आउने गरेका छन् । यतिबेला प्राधिकरणकाे मेलम्ची वितरण केन्द्र अन्तर्गत पर्ने फटकशिलाको अवस्थाले पनि त्यही प्रमाणित गरेको छ ।
मेलम्ची नगरपालिका -१३, साबिक फटकशिला वडा नम्बर ४ अन्तर्गत देवीस्थानदेखि मुसेघडेरी र सिमल्टारसम्म बिजुली बत्ती लगेको देख्ने जो कोहीले प्राधिकरणकाे बेवास्ताकाे संज्ञा दिने गरेका छन् । कतै हरियो रुखमा पाइपको रिङ्ग बनाइ नाङ्गो तार हालिएको छ त कतै बाँसमा । त्यस्तै, कतै सल्लोको पोलमा हालिएको तारसमेत पोलले तारकोको लोड थाम्न नसक्दा टेको दिएर अड्याइएको छ ।
‘प्राधिकरणमा पटक–पटक पोल माग गरियो, सधैँ हुन्छ, हामी गर्दै छौँ भन्ने जवाफबाहेक अरु केही पाइएन’ स्थानीय उपभोक्ता षडानन्द लामिछानेले भन्नुभयाे । प्राधिकरणसमक्ष याे समस्याकाे बारेमा पटक पटक कुरा उठाउँदा पनि हुन्छ भन्ने आश्वासन बाहेक केही नपाएकाे स्थानीयकाे गुनासाे छ ।
पछिल्लो समय भने पुरै गाउँबाट काठे पोल विस्थापन गर्ने उद्देश्य रहेकोले केही समय लागेकाे र याे समस्याकाे छिटै नै समाधान हुने मेलम्ची प्राधिकरणले जानकारी दिएकाे छ । तर कहिलेसम्ममा याे समस्या समाधान हुन्छ भन्ने प्रश्नकाे प्राधिकरणसँग उत्तर छैन ।
करिब ७/८ वटा पोल हालिदिए जोखिमपूर्ण रुपमा बत्ती बाल्नुपर्ने समस्याबाट सधैँका लागि मुक्ति मिल्ने स्थानीय उपभाेक्ता श्यामप्रसाद सञ्जेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हामीले पोलको अभाव मा पनि बत्ती त बाल्नैपर्याे भनेर यसरी काम चलाउका रुपमा मात्र बत्ती बालिरहेका छाैँ । हावाहुरी लाग्दा र पानी पर्दा बत्ती आउँदैन ।’
फलामकाे व्यवस्थित पाेल नहुँदा बिजुलीकाे तार पनि दुरुपयाेग हुने गरेकाे छ । रुखमा गुजुल्टाे पारेर राखिएकाे तार गाउँलेले बँदल पासाे थाप्नका लागि प्रयाेगमा ल्याएका छन् । स्थानीय युवा निश्चल सञ्जेल भन्नुहुन्छ, ‘स्थानीयले तार दुरुपयाेग गर्न थालेपछि हामीले तार को संरक्षणका लागि भए पनि जसरी सकिन्छ त्यसरी नै तार बाँधेर बत्ती बाल्ने काम गरेका हौँ ।’
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका प्राधिकरण सुधारको काम थुप्रै सुनेका स्थानीय उपभोक्ता शिवप्रसाद आचार्य आफ्नाे गाउँकाे याे समस्या सकिन लागेको उहाँको कार्यकालमा नै उहाँसमक्ष पर्याउन चाहानुहुन्छ । निराश हुँदै उहाँले भन्नुभयाे ‘पहुँच हुनेहरुका लागि मात्र हाे । हामीजस्ताकाे समस्या कसले सुनिदिने ?’
याे समस्याका बारेमा बेलैमा प्राधिकरणकाे मेलम्ची वितरण केन्द्रले समाधान नगर्ने हाे भने यसले जनधनकाे क्षति निम्त्याउने हाे की भन्ने त्रास पनि स्थानीयमा छ ।