Aafno Khabar

चीनको ९ शहरमा फैलियो कोभिड १९, नयाँ संक्रमणले बढ्यो चिन्ता

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

चीनको उत्तरपूर्वी भूभागमा रहेको दालियन शहरमा फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिन थालेका छन् । संक्रमण अन्य प्रान्तमा पनि फैलिन थालेको बीबीसीले उल्लेख गरेको छ ।

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमित भेटिन थालेपछि यी क्षेत्रमा पुनः प्रतिबन्ध लगाउनु पर्ने भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसअघि गएको वर्ष डिसेम्बर महिनामा चीनबाट नै कोरोना भाइरस विश्वभर फैलिएको थियो । चीनले कडा लकडाउन गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

तर पछिल्लो समयमा चीनमा फेरि पनि विभिन्न प्रान्तमा कोरोना संक्रमित भेटिन थालेका छन् ।

मंगलबार चीनमा ६८ जना नयाँ कोरोना संक्रमित थपिएको बताइएको छ । यो गएको अप्रिल भन्दा पछाडि सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसमध्ये ५७ जना सिन्जियाङ प्रान्तका हुन् । दालियनमा पनि ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यीसहित दालियनमा पछिल्लो एक सातामा ४४ जना कोरोना संक्रमित भेटिएका छन् ।

चीनका स्वास्थ्य अधिकारीहरुका अनुसार दालियनबाट देखा परेको कोरोना संक्रमण अन्य पाँच प्रान्तको नौ वटा शहरुमा फैलिसकेको छ । भाइरस दालियनबाट १५०० किलोमिटर टाढा दक्षिण पूर्वको फुजियान प्रान्तमा पनि देखा परेको छ ।

बेइजिङमा पनि मंगलबार एक जनामा कोरोना संक्रमण भेटिएको छ । चीनमा अहिले ३९१ जना कोरोना संक्रमित अस्पतालमा छन् । हालसम्म चीनमा कुल ८३ हजार ९५९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।