Aafno Khabar

अवैध मिर्गौला प्रत्यारोपणमा डाक्टर, जनप्रतिनिधि र प्रहरीसहित १२ जना पक्राउ

  • July 12, 2020 प्रकाशित

काठमाडाैं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधि र प्रहरीसहित १२ जना पक्राउ गरेकाे छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार ललितपुरबाट ९ जना र शनिबार चितवनबाट तीन जना डाक्टर, प्रहरी तथा जनप्रतिनिधि पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकामा एकजना वडा अध्यक्ष रहेका छन् । पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ ।

वडाध्यक्ष महर्जनमाथि अवैध रुपमा मिर्गौला प्रत्यारोपण गर्ने समूहकाे साथ दिएकाे आराेप छ । महर्जनले नक्कली नाता प्रमाणित गरेकाे कारण नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

यस्तै, पक्राउ परेका  २ जना प्रहरी पनि रहेको खुलेको छ । ब्युराेका अनुसार प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पक्राउ परेका हुन् । थपलिया अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा यसअघि निलम्बनमा परेका थिए ।

ब्यूरोले यसअघि गत साल असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ गरेको थियो ।