काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भनी नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हाे ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायी सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको र सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणबद्ध आन्दोलनमा जाने बताउनुभयाे । उहाँले लकडाउनको अवधि शून्य समय मानेर ब्याजदर, कर, घरभाडालगायतमा छुट पाउनुपर्ने बताउनुभएकाे थियाे ।
महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३.५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायीक घरभाडा छुट दिनुपर्नेलगायतका मागहरू राखेर आन्दाेलन गर्ने बताएकाे छ ।
पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले बताउनुभयाे । त्यसपछि पनि सरकार गम्भीर नबने चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयाे ।