अफ्रिकी देश बोत्सवानामा पछिल्लो २ महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकि देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तीमा ३५० हात्तीको मृत्यु भएको डा. नायाल म्याक्यानले बताएका छन् । डा. म्याक्यान बेलायतमा रहेको नेशनलपार्क उद्धार सहयोगी संस्थाका प्रतिनिधि हुन् ।
डा. म्याक्यानले बताए अनुसार अहिलेसम्म जनावरहरु किन वा के कारणले मरिरहेका छन् भन्ने खुलेको छैन । मृत हात्तीबाट लिइएको नमूना परीक्षणकाे रिपोर्ट आउन केही समय लाग्ने बताइएकाे छ ।
अफ्रिकी हात्तीको एक तिहाइ संख्या बोत्सवानामा रहेको छ ।
हात्तीको मृत्यु बारे स्थानीय संरक्षणकर्मीहरुले गएको मे को सुरुमा सरकारलाई जानकारी गराएको डा. नायालले बीबीसीसँग बताएका छन् । सरकारलाई जानकारी गराएपछि हवाइ उडानमार्फत हात्तीकाे अवलाेकन गरिएकाे थियाे । जहाँ तीन घण्टाकाे अवधिमा १६९ वटा मृत हात्ती देखेको डा. नायालले बताएका छन् ।
त्यसको एक महिनापछि थप अनुसन्धानबाट मृत्यु हुने हात्तीको संख्या ३५० भन्दा धेरै रहेकाे पत्ता लागेकाे छ ।
उनी भन्छन्, ‘यति ठूलो संख्यामा हात्ती मर्नु अति असाधारण कुरा हो । खडेरी बाहेकको अवस्थामा यस्तो हुनु कुनै पनि हालतमा सामान्य होइन।’
यति ठूलाे संख्यामा हात्तीकाे मात्र मृत्यु भएकाे छ अरु जनावरकाे हाेइन । यसमा चाेरी शिकारी गर्नेहरुकाे पनि संलग्नता नरहेकाे डा. नायालकाे भनाइ छ ।
अहिलेसम्म भएका अनुसन्धानमा हात्तीको मृत्यु विषादी वा रोगका कारण भएको भन्ने खुलेको छैन । परीक्षण रिपाेर्ट नआएसम्म यति ठूलाे संख्यामा हात्तीकाे मृत्यु कसरी भयाे भन्ने जानकारी दिन नसकिने उनले बताएका छन् ।