विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि सङ्क्रमित गर्न सक्ने बताइएकाे छ ।
उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन् ।
यो नयाँ भाइरस भएकोले यसप्रति मानिसको रोग प्रतिरोधक क्षमता अत्यन्तै कम मात्रामा हुने बताइएको छ ।
अनुसन्धानकर्ताहरु याे नयाँ र खतरनाक फ्लु भाइरसलाई लिएर सचेत भएका छन् ।
सन् २००९ मा फैलिएको स्वाइन फ्लु महामारी मानिसहरुले सोचेकोजस्तो त्यति खतरनाक थिएन, किनकि त्यो भाइरस त्यसअघि आएका भाइरसजस्तै थिए । यही कारण मानिसहरुले त्यो भाइरससँग सङ्घर्ष गर्न क्षमता राखेका थिए ।
त्यो भाइरसको नाम A/H1N1pdm09 थियो र यसको खोप वार्षिक रुपमा दिइँदै आइएको छ ।
चीनमा अहिले जुन भाइरसको पहिचान गरिएको छ, त्यो सन् २००९ को स्वाइन फ्लुजस्तै छ तर केही नयाँ परिवर्तित रुपमा देखिएको छ । याे भाइरसबाट अहिले नै कुनै खतरा नभएकाे तर याे भाइरसबारे नजरअन्दाज गर्न नसकिने भाइरसबारे अनुसन्धान गरिरहेका प्राेफेसर किन चाओ चेङ्गले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।