Aafno Khabar

सर्‍यो डेनमार्ककी प्रधानमन्त्रीको विहे

  • June 26, 2020 प्रकाशित

डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ ।

समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्गबीच हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो ।

प्रधानमन्त्री फ्रेडेरिक्सनले आफ्नाे विवाह फेरि सरेकाे बारे जानकारी फेसबुकमार्फत दिएकी हुन् ।

टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो ।

डेनमार्ककाे हितकाे लागि आफूले काम गर्नुपर्ने भएकाले विवाह सार्नुपरेकाे उनकाे भनाइ छ ।

युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुनेछ । कोरोनाभाइरसको संक्रमण रोक्न लामाे समय लकडाउन भएपछि पहिलो पटक युरोपियन युनियनका नेताहरू भेला हुन लागेका हुन् ।