काठमाडौं । कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उपकरण र चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न सुझाव दिएका छन् ।
नेपालमा लोडसेडिङ हटिसके पनि अधिकांश उपभोक्ता विद्युतको उल्लेख्य उपभोगमा अभ्यस्त छैनन् । बिजुलीको बिल महंगिने पीर गरेर विद्युतीय उपकरणहरु नचलाउने बानी हटाउन यो उपयुक्त समय भएको ऊर्जा मन्त्रालयका अधिकारीहरुको पनि मत छ ।
नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि भारतबाट आयात हुने ग्यासलाई विद्युतमार्फत विस्थापन गर्ने बताउँदै आएको छ । ग्यास अभाव भएका बेला उपभोक्तालाई आश्वस्त पारेर अघि बढ्न विज्ञहरुले नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएका हुन् ।
विद्युत प्राधिकरणले पनि उपभोक्ताले ढुक्क भएर विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोग गर्न सक्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपभोक्तालाई ढुक्क भएर इन्डक्सन प्रयोग गर्न सुझाव दिन्छन् ।
अहिले जाडोको हिटर पनि प्रयोग हुन छाडेकाले विद्युत वितरण प्रणालीमा इन्डक्सनको लोडले समस्या नहुने घिसिङले बताउनुभयो । ‘कतै कुनै फिडरमा ओभरलोड आयो भने पनि तुरुन्तै व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा छौं,’ ‘हामीलाई बिजुलीको अभाव छैन, ग्यास नपाइए इन्डक्सनमा आउनुहोला ।’
ग्यास सस्तो कि इन्डक्सन ?
धेरै उपभोक्तालाई लाग्छ कि ग्यास भन्दा विजुलीको प्रयोग महंगो छ । तर, अध्ययनहरुले भने ग्यासभन्दा विजुलीको प्रयोग सस्तो हुने देखाएको छ ।
विद्युतीय चुल्हो प्रयोगबारे अध्ययन गरेका ऊर्जाविज्ञ प्राध्यापक डा। जगन्नाथ श्रेष्ठ एलपी ग्यासभन्दा विद्युत् सस्तो हुने बताउँछन् । विद्युतको प्रयोग देशको आर्थिक हितमा पनि हुने भएकाले सरकारले विद्युत् प्रयोगमा उपभोक्तालाई जागरुक बनाउनुपर्ने श्रेष्ठ बताउँनुहुन्छ ।
‘सिलिन्डर ग्यास किन्न १४ सय खर्च हुन्छ तर उक्त ग्यास बराबरको खाना पकाउन इन्डक्सनमार्फत विद्युतबाट ९ सय हाराहारीले पुग्छ । अर्कोतर्फ वातावरण प्रदूषणबाट मुक्ति मिल्छ’, । २०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टितेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।
त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुने देखायो । तर बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।
ग्राहकको रोजाइको विद्युतीय सामग्रीबाट खाना बनाउँदा ५ जनाको परिवारमा मट्टितेलमा भन्दा १ सय २६ रुपैयाँ कम खर्च लाग्छ । यस्तै एलपी ग्यासको तुलनामा विद्युत् प्रयोग गर्दा ३६४ रुपैयाँ उपभोक्तालाई कम भार पर्छ ।
ऊर्जा अध्ययन केन्द्रको अनुसन्धानअनुसार ग्राहकको रोजाइको विद्युतीय खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विद्युतीय हट प्लेट लगायत पर्दछन् । तर ती सामाग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै रहेको निश्कर्ष अध्ययनले निकालेको छ । नेपालको कुनै पनि शहर तथा गाउँघरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा लाग्ने खर्च जम्मा ९ सय ९० रुपैयाँ मात्रै हुन्छ । ग्यासभन्दा यो रकम ४ सय ८८ रुपैयाँले कम हो । मट्टतिेलको तुलनामा इन्डक्सन २५० रुपैयाँले सस्तो पर्छ ।
नेपालमै उत्पादित विजुलीले आयातित ग्यासमा भन्दा मासिक ४८८ रुपैयाँ सस्तोमा खाना बनाउन सक्छन् भन्ने निष्कर्ष केन्द्रको छ । विद्युत् प्रयोगको अर्को महत्वपूर्ण फाइदा भनेको प्रदूषणको मात्रा अत्यन्तै न्यून हुनु र तथा ऊर्जा खेर जाने दर अत्यन्तै कम हुनु पनि हो । यसैगरी, ग्यासमा जति दुर्घटनाको जोखिम इन्डक्सन चुल्होमा हुँदैन ।
ग्यासको पूर्वाधारमा गर्ने खर्च र यसमा दिइँदै आएको सरकारी अनुदान अब उपभोक्तालाई विद्युत् प्रयोगमा दिइनुपर्ने मत अध्ययेता श्रेष्ठको छ । १८ घण्टासम्मको लोडसेडिङ भोगेका नेपालीहरूले खाना पकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा विजुलीलाई मान्न तयार भइसकेका छैनन् ।
त्यसो त अहिले पनि प्राविधिक कारणले झ्याप्प(झ्याप्प बत्ती जाने क्रम चलिरहेकै छ । यसका कारण पनि उपभोक्तालाई विद्युतीय चुल्होमा भर पर्न अप्ठेरो छ । अनलाइनखबर