Aafno Khabar

दिल्लीमा हिंसा : मृतकको संख्या २० पुग्यो

  • February 26, 2020 प्रकाशित

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा आइतबारबाट भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् ।

हिंसामा अन्य एक सय ८९ जना घाइते भएका छन् । अस्पतालमा पुगेका घाइतेहरुमध्ये केहीको टाउकोमा चोट लागेको छ भने केहीलाई गोली लागेको छ । काेही भने भाग्ने क्रममा लडेर घाइते भएका छन् ।

गुरु तेज बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमले हिंसाका कारण अहिलेसम्म २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

यसैबीच बुधबार बिहानै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीको पछिल्लो अवस्थाका बारेमा जानकारी दिने बताइएको छ ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ । घाइतेहरुको उद्धारमा अवरोध पुर्‍याइएपछि मंगलबार राति दिल्ली उच्च अदालतले दिल्ली प्रहरीलाई घाइतेहरुको तत्काल उद्धार गर्न आदेश दिएको थियो ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए ।

उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।

नागरिकता कानुनकाे विषयमा हिंसा भड्किएकाे हाे । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएका छन् । नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यस अघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि भने प्रदर्शनले हिंसाको रुप लिएको हो ।