पैसा नभएर आफन्तसँग सापटी लिइ उनले २०५७ सालमा चिया पसल सुरू गरिन्। उनको कामलाई त्यसबेला कसैले पत्याएन।
विमला पराजुलीले त्यही चिया पसलको कमाइले छोरा पढाइन्, घरको सम्पूर्ण खर्च धानिन् र भक्तपुरको बालकोटमा जग्गा पनि किनिन्।
“चिया बेचेर कमाएको जग्गाको मूल्य अहिले डेढ करोड छ,” ३७ वर्षीय पराजुली भन्छिन्।
‘बाटोमा चिया बेचेर केही हुन्छ भन्ने आफन्तहरूले नै पत्याएका थिएनन्। अहिले मेरो काम देखेर सबैजना खुसी छन्।’
उनको पसलमा चिया खान टाढा-टाढाबाट मानिसहरू आउँछन्। दैनिक ६ सय कपको हाराहारीमा चिया बिक्री हुन्छ। नयाँ बानेश्वरको पुरानो शिवदर्शन हल भएको चोकमा नाम नै नभएको यो पसलको चिया निकै प्रख्यात छ।
चिया खान आउने ग्राहकहरू चिया मिठो मानेर खाँदा आफ्नो थकान मेटिने भन्दै उनले थपिन्, ‘दिनमा १६ घण्टासम्म पनि खट्छु तर थकाई लाग्दैन।’
पराजुलीलाई बिहान बेलुकी श्रीमानले पसलमा सघाउँछन्। श्रीमानको सरकारी जागिर छ। आफ्नो कमाइले छोरालाई विदेशमा पढाउने उनको योजना छ। -बीबीसीबाट साभार