Aafno Khabar

पहिरो पीडितलाई राहत वितरण

  • नयाँ पत्रिका
  • July 1, 2018 प्रकाशित

उत्तरी धादिङको खनियावास र नेत्रावती गाउँपालिकामा गएको पहिरोमा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति धादिङले जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत राममणी मिश्रको नेत्तृत्वमा पीडित परिवारलाई राहत उपलव्ध गराएको हो ।

बुधवार राती पहिरोले पुरिएर दुई परिवारका पाँच जनाको मृत्यु भएको थियो । पहिरोले घर बगाउँदा खनियाबास गाउँपालिका–५ साइश्वाँराकी ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरू १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको थियो । सोही समयकोे पहिरोमा परी खनियाबास–४ चिउरीबोटका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीया कोप्ची घलेको पनि मृत्यु भएको थियो ।

राहत वितरणका टोलीले तत्काललाई एक थान त्रिपाल, लत्ता कपडा, आवश्यक भाँडा, चामल उपलव्ध गराइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत मिश्रले बताए । राहतमा गएका नेपाल रेडक्रस सोसाईटी धादिङका सदस्य नारायणकुमार श्रेष्ठ पहिरोले बाटो कठिन भएको बताए । राहत टोलीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो । गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको थियो ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदलमा पुग्न सकिने भएकाले उद्धारमा ढिलाई भएको थियो । जिल्लाबाट खटिएको राहत तथा उद्धार टोली शनिवार साँझ सदरमुकाम फर्किएको छ । पहिरोमा परी आठ घर उच्च जोखिममा रहेको छ ।

घटनामा मृतक परिवारलाई राहतस्वरूप १ लाख र घाइतेलाई १० हजार रकम दिने निर्णय गरिएको छ । पहिरोमा परी पशुचौपायको समेत मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु