Aafno Khabar

हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

  • आफ्नो खबर
  • April 27, 2025 प्रकाशित

file photo

देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत मौसमी प्रणालीलाई प्रभावित पारेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार अपराह्नदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबारदेखि तापक्रममा उल्लेखनीय कमी आउने र लगभग प्रत्येक दिन अपराह्नतिर वर्षाको सम्भावना रहेको पोखरेलले जानकारी दिए। उनले सोमबार अपराह्नदेखि काठमाडौं उपत्यकासहित पूर्वी भेगमा राम्रो वर्षाको सम्भावना रहेको बताए।

यता, मौसम महाशाखाले आइतबार कोशी र मधेस प्रदेशसहित देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा मुख्यतः सफा वा आंशिक बदली रहने प्रक्षेपण गरेको छ। मधेस प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। साथै, देशको हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा सफा वा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।