Aafno Khabar

कुलमान घिसिङको बर्खास्तीप्रति चौतर्फी विरोध, सरकारको निर्णयको आलोचना

  • आफ्नो खबर
  • March 25, 2025 प्रकाशित

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमानकै कारण लोडसेडिङ हटेको दाबी गर्दै सरकारको कदमको कडा आलोचना गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै भने, “सरकारको यो निर्णय बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा लिइएको यो कदमप्रति घोर निन्दा गर्दछु।”

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत असन्तुष्टि व्यक्त गरेका छन्। थापाले सरकार गलत दिशामा अघि बढेको टिप्पणी गर्दै भने, “मन्त्रीहरूले बाटो बिगार्दा प्रधानमन्त्रीले सुधार्ने हो, तर यहाँ उल्टै अनुमोदन गरियो। यो निर्णय गलत छ। उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुगिँदैन।”

महामन्त्री शर्माले पनि सरकारको निर्णयलाई समयसापेक्ष नभएको भन्दै विमति जनाएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षले घिसिङ हटाइएसँगै देश पुनः ऊर्जा संकटमा पर्ने जोखिम बढेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने प्रतीकात्मक विरोधस्वरूप बत्ती निभाएर सरकारको कदमको विरोध जनाएका छन्।