काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा घरघरमै लोडसेडिङ हुन सक्ने बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले हाल उद्योगहरूमा लोडसेडिङ भइरहेको र अब सर्वसाधारण उपभोक्तालाई पनि विद्युत् कटौतीको असर पर्ने चेतावनी दिए।
मन्त्री खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरिरहेका बेला निजी क्षेत्रबाट २८०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, मागअनुसार आपूर्ति हुन नसक्दा लोडसेडिङ अनिवार्य भएको उनको भनाइ छ। ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। उद्योगहरूमा कटौती गरेर घरमा विद्युत् आपूर्ति गरिँदै आएको छ, तर अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात गर्नुपरिरहेको छ,’ उनले भने, ‘हामीसँग हाल १ हजार मेगावाट विद्युत् मात्रै छ, अब साँझको समयमा घरमै पनि लोडसेडिङ हुने अवस्था आउँदैछ।’
मन्त्री खड्काले नेपालमा लोडसेडिङ हटेको जस्तो देखिए पनि त्यसको श्रेय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मात्र दिन नहुने बताए। ‘लोडसेडिङ अन्त्यका लागि भारत र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ। निजी क्षेत्र र भारतबाट आयातित विद्युत्कै कारण लोडसेडिङ हटेको जस्तो देखिएको हो,’ उनले भने, ‘त्यसैले उज्यालोको नायक कुलमान घिसिङ मात्र होइनन्, बरु भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्छ।’
त्यस्तै, उनले नेपाल विद्युत् प्राधिकरण नाफामा रहेको भन्ने दाबी असत्य भएको बताए। ‘महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्राधिकरणको घाटा २ खर्ब रुपैयाँभन्दा बढी छ। नाफामा गएको भनिए पनि तथ्यांकले त्यसलाई पुष्टि गर्दैन,’ मन्त्री खड्काले स्पष्ट पारे।