Aafno Khabar

पोखरा-मुग्लिन सडक (पश्चिम खण्ड) को निर्माण कार्य ४३.३४ प्रतिशत पूरा

  • आफ्नो खबर
  • March 11, 2025 प्रकाशित

पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ। कुल ३८.८८ किमी दूरी रहेको यस खण्डमा २९.४७ किमी सडक कालोपत्र भइसकेको छ। आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चार लेनको उक्त सडकमा १५.३२ किमी दुईतर्फी र १४.१५ किमी एकतर्फी कालोपत्र गरिएको छ।

सडक निर्माणको म्याद २०८२ पुससम्म रहेको छ। यसअघि दुई पटक म्याद थप भइसकेको थियो। तनहुँको जामुनेदेखि पोखरा जोड्ने पश्चिम खण्डको सम्झौता २०७८ जेठ २ गते भएको थियो भने २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। एक वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण गति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

पश्चिमतर्फ तनहुँमा दुई किमी सडक कालोपत्र गर्न बाँकी रहेको छ भने कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम जारी छ। पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थल, अमरसिंहचोक, बूढीबजारलगायत क्षेत्रमा कालोपत्र भइरहेको छ। पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडा खण्डमा पनि तीव्र रूपमा निर्माण कार्य अगाडि बढाइएको छ।

विजयपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको छ। पश्चिम खण्डमा पर्ने १२ मध्ये ९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन ले रु ७ अर्ब ४० करोड ४६ लाखको लागतमा सडक विस्तारको जिम्मा लिएको छ।

यसैगरी, पोखरा–मुग्लिन सडकको ४१.४५ किमी पूर्वी खण्डमा पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७८ वैशाखदेखि पूर्वी खण्डको स्तरोन्नति कार्य अघि बढाएको थियो।

सरकारको प्राथमिकतामा रहेको यो आयोजनाका कारण हाल पोखराको यातायात सेवा केही असहज बनेको छ। निर्माणका कारण धुलो, हिलो र लामो यात्रा सहनु परेको यात्रुहरूको गुनासो रहे पनि परियोजना सम्पन्न भएपछि पोखरासहित गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधि प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।