Aafno Khabar

प्रहरी जवानलाई कार्यालयमा पाता कसेर यातना

  • आफ्नो खबर
  • २०८० असार २७ गते १४:३१ प्रकाशित

सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।

ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए। ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्। ११ घन्टासम्म बाँधेर कुटेका छन्,’ उनले भने।

यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक(फरक जानकारी दिइरहेको छ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताए। तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

‘मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिएका हौं। जथाभावी पब्लिक, सिपाहीलाई कुटपिट दुर्व्यवहार गरेपछि पाता कस्न परिहाल्छ नि ।’ एसपी लिम्बुले भने, ‘तर उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई गरेको अवस्था हो ।’

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।

प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.८ फुलहट्टा हो ।