Aafno Khabar
sanima bank

कोशीमा पहिलो पटक कांग्रेसबाट मुख्यमन्त्री नियुक्त

  • आफ्नो खबर
  • July 6, 2023 प्रकाशित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरिएको थियो ।

कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन। यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए । गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ। यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो ।

यद्यपि यो संख्यामा सभामुख बाबुराम गौतमको पनि गणना माओवादी केन्द्रले गरेको छ । दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ।

भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरूले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन् । संविधानले पनि सोही कुरा भनेका कारण राप्रपा फ्याक्टर प्रदेशमा निर्णायक सावित हुने छ ।