Aafno Khabar
babasaik siksa

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

  • आफ्नो खबर
  • २०७९ असार ३ गते ११:२४ प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् । शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’

उनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले यथार्थ जानकारी दिनुपर्ने पनि बताए ।

सोही बैठकमा नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिएका छन् । अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए ।