Aafno Khabar

शंखरापुरमा राप्रपाको हलो अगाडी, गठबन्धन तेस्रो स्थानमा

  • आफ्नो खबर
  • २०७९ बैशाख ३१ गते ११:१८ प्रकाशित

काठमाडौं । काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडामा अग्रता बनाएको छ ।

यो पालिकामा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो स्थानमा छन ।

प्राप्त नजिताअनुसार एमालेबाट प्रमुख पदका प्रत्यासी कृष्ण बजगाईंले २७० मत ल्याएका छन्। उप्रमुखमा लक्ष्मी केसीले २०६ मत पाएकी छन्। राप्रपाबाट प्रमुखको प्रत्यासी बनेका रमेश नापितले २८१ र उपप्रमुखको २०४ मत आएको छ।

कांग्रेस समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका एलपी श्रेष्ठले २३० मत मात्रै पाएका छन्। त्यही टिमबाट उपप्रमुखको उम्मेदवार रहेकी कांगेसकी समिता श्रेष्ठले ३३१ मत पाएकी छन्।

माओवादीबाट प्रमुखको प्रत्यासी बनेका निरज केसीले ११४ र उपप्रमुख चण्डिक दंगालले १२३ मत पाएकी छन्।

पार्टीको उपस्थितिको हिसाबले अहिले गणना भएको १ र ९ नम्बर वडामा राप्रपाको उपस्थित सांकेतिक मात्रै छ।

कमजोर मानिएको क्षेत्रबाटै दोस्रो धेरै मत ल्याएपछि प्रमुख उपप्रमुखमा राप्रपाको संभावना बढेको टिप्पणी हुन थालेको छ ।

शंखरापुरमा राप्रपाको आधार इलाकाको रुपमा रहेको वडा ६ र ७ वडाको मतगणना हुन बाँकी छ। जुन साँखुको कोर क्षेत्र हो।

अघिल्लो चुनावमा ती दुवै वडामा राप्रपाले खसेको मतको ७० प्रतिशत मत एकलौटी प्राप्त गरेको थियो। यसपटक पनि ती दुईवटाबाट अघिल्लोपटकजस्तै मत खस्ने दाबी राप्रपाका कार्यकर्ता दाबी गर्छन्।

शुक्रबार भएको मतदानमा शंखरापुरको कुल २२ हजार पाँच सय मतमध्ये १७ हजार एक सय खसेको छ।