Aafno Khabar

चुनावमा पैसा बाँडेको आरोपमा एक झोला पैसासहित अन्सारी पक्राउ

  • आफ्नो खबर
  • २०७९ बैशाख २९ गते १३:१० प्रकाशित

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो।

जनकपुरस्थिति शीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले उनको कोठाबाट एउटा झोला समेत बरामद गरेको छ। जसमा पैसा रहेको जनाइएको छ। अध्यक्ष अन्सारी नेकपा एमाले समर्थित हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७५ चैतमा अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका थिए।

आयोगको अध्यक्ष सिफारिस भएका बेला उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो। तर, उजुरीका सम्बन्धमा संसदीय समितिले निर्णय गर्न नसक्दा उनी स्वतः नियुक्त भएका थिए।

यता, गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

बिहीबार गण्डकी गाउँपालिका-५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितकाे टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आराेप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा-५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव  जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए ।

स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् । उनीहरूलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, श्रेष्ठले भने ।