Aafno Khabar

एकैपटक जन्मिएका ९ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

  • आफ्नो खबर
  • May 5, 2022 प्रकाशित

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिसेले एकैपटक ९ सन्तानलाई जन्म दिएकी थिइन् । ती बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था गरेको थियो ।

२६ वर्षीया हलिमा सिसेले बुधबार आफ्नो छोराछोरीको जन्मदिन मनाएकी छन् । हलिमा सिसेका श्रीमान् अब्दुल कादिर अर्बीले बच्चाहरूको स्वास्थ्य राम्रो भएकाे बताएका छन् ।

मालीको सेनामा काम गरेका अर्बी भन्छन्, ‘बालबालिकाहरू अहिले घुँडा टेकेर हिँडिरहेका छन् । कुनै बस्न थालेका छन् भने केही सहारा पाए भने हिँड्न थालेका छन् ।’

छोराहरूको नाम मोहम्मद छैठौं, ओमार, इल्हादजी, बाह र छोरीहरुको नाम कादिदिया, फतौमा, हवा, अदामा र ओउमो राखिएको छ ।

यी सबै बच्चाहरू मोरक्कोको एउटै क्लिनिकको हेरचाहमा छन् । बच्चाकी आमा हलिमा सिसेको स्वास्थ्य पनि राम्रो छ । बच्चाका बुबाले भने, ‘सजिलो त छैन तर धेरै राम्रो छ, कहिलेकाँही थकाई नै लाग्छ । बच्चाहरु देख्दा र उनीहरुको स्वास्थ्य अवस्था राम्रो हुँदा खुशी लाग्छ । त्यसैले त हामी सबै कुरा बिर्सन्छौं ।’

आइन बोर्जा क्लिनिकका मेडिकल डाइरेक्टर प्रोफेसर युसुफ अलौईले एएफपी समाचार एजेन्सीसँग ती बच्चाको तौल ५०० ग्रामदेखि १ किलोग्रामसम्म रहेको बताएकी छन् । सिसेकाे सिजेरियन डेलिभरी भएको थियो ।

एकैपटक सबैभन्दा धेरै जीवित बच्चा जन्माएर सिसेले गिनिज वल्ड रेकर्डमा नाम राखेकी छन् ।

यसअघि सन् २००९ मा एकैसाथ आठ सन्तान जन्माउने अमेरिकाकी एक महिलाको नाम सबैभन्दा बढी सन्तान जन्माउनेमा थियो । यसअघि पनि यस्ता दुईवटा घटना बाहिर आएका थिए ।

सन् १९७१ मा अष्ट्रेलियाकी एक महिलाले ९ सन्तान र १९९९ मा इन्डोनेसियाकी एक महिलाले ९ सन्तानलाई जन्म दिएकी थिइन् तर ती बालबालिका केही दिन मात्रै बाँच्न सफल भए ।

विश्व कीर्तिमानधारी नादिया सुलेमानले ८ सन्तानलाई जन्म दिएकी थिइन्, ती अहिले १२ वर्ष पुगिसकेका छन् । उनको गर्भावस्था इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) मार्फत भएको थियो ।

– बीबीसी हिन्दीकाे सहयाेगमा ।