Aafno Khabar
add khanepani

फागुपूर्णिमा र यसको पौराणिक महिमा

  • चक्रपाणि शर्मा गौतम
  • March 17, 2022 प्रकाशित

चक्रपाणि शर्मा गौतम

हिन्दु पञ्चाङ्ग अनुसार हरेक वर्षको फाल्गुणमास शुक्लपक्षको १५औं तीथिको दिनलाई फागुपूर्णिमा भनिन्छ। यस पूर्णिमाले बशन्तऋतुको आगमन सँगै हिउँदको जाडो समय अबदेखि सकिँदै गएको सङ्केत गर्दछ। यो समयमा प्रकृतीले पनि आफ्नो रुप बदलिसकेको हुन्छ।

पात झरेर उजाड देखिएको बनस्पति जगत यस समयमा पालुवा पलाएर पुनः हराभरा देखिन्छ। यस पूर्णिमाले धरतीमा सबैसामु नयाँ खुशी, उत्साह, उमङ्ग,आनन्द बोकेर आएको भान हुन्छ।

हाम्रो पात्रो अनुसार बि.सं.२०७८ साल (ई.सं.२०२२) को लागि फागु पूर्णिमा चैत्र महिनाको ३ र ४ गते पर्न गएको छ। यो चाड नेपालको पहाडी भेकमा चैत्र ३ गते र तराई भेकमा चैत्र ४ गते मनायिने गरिन्छ। यस दिन आफ्ना आफन्तहरु, सङ्गी– साथीहरु, प्रेमी–प्रेमिकाहरुबीच अबिर लगाएर, रङ्ग खेलेर खुशी साटासाट गर्ने गरिन्छ। यस पर्बले  (१) नकारात्मक शक्तिको दहन (नष्ट गर्नु) र (२) सकारात्मक शक्तिको संरक्षण गरी दुईटा महत्वपूर्ण सन्देश बोकेको हुन्छ।

दुष्टात्मा तथा दुराचारी होलीकाको दहन र सदाचारी तथा भगवान भक्त प्रह्लादको संरक्षण भएको दिन यहि भएको हुनाले यस धरतीमा त्यसै दिनदेखि होली खेलेर उत्सब मनाउने प्रचलनको थालनी हुँदै आएको हो भन्ने कुरा हाम्रा धर्मशास्त्रहरुबाट अबगत हुन आउँछ।

यो पर्ब हिन्दुहरु बसोबस गरेका बिश्वका सबै देशहरु र नेपाल, भुटान, सिक्किम, बङ्गलादेश, पाकिस्तान, भारत जस्ता हिन्दु धर्मालम्बीमा बिशेष हर्ष र उल्लासका साथ मनाउने गरिन्छ।

हिन्दु समाजमा यस दिन बिहान सबेरै उठेर स्नानादि कर्मबाट निबृत्त भै आ–आफ्ना मनमा कुनै फल पाउने अभिलाषा बोकेर आ–आफ्ना आराध्यदेवको नाममा पूजा–अर्चना गरी दिनभरी निराहार उपासना गरेर बेलुका बिधिपूर्बक भगवानको पूजा, धूप, दीप आरती आदि गरी चन्द्रोदय भएपछि चन्द्रदेवलाई जल,फूल,अर्घ,आदि अर्पणगरी मनोकामना सिद्धहोस भन्दै प्रणाम गरेर त्यस पूर्णिमा ब्रतको बिसर्जन गर्ने परम्परा पनि छ।

आफ्ना परिबारका कोही सदस्यहरुको यदि अल्पायु लिएर जन्म भएको अवस्था छ भने त्यस्ताका नाममा बिधिपूर्बक ३२ वटा पूर्णिमाको ब्रत गरिदिने हो भने शिबजीको कृपाले त्यस्तो ब्यक्ति पूर्णायुको बन्नसक्छ भन्ने तथ्य हाम्रा शास्त्रहरुमा भेटिन्छ।

यसै कारणले भन्ने गरिन्छ– फागु पूर्णिमा ब्रतको महिमा अपार छ,परम शक्तिशाली छ,परम पूण्यदायी छ। फागु पूर्णिमा बारेको पौराणिक कथन यस प्रकारको बतायिएको छ–

धेरै–धेरै वर्ष पहिले बिष्णु भगवानले बराह अवतार धारण गरेर हिरणाक्ष्य दैंत्यले अपहरण गरेर समुन्द्रमा लगी लुकाएको प्रिथ्वीलाई हिरणाक्ष्यको बधगरी उसबाट पृथ्वी खोसेर ल्याएका थिए। यसरी बिष्णु भगवानले हिरणाक्ष्यको बध गरिदिएपछि यता उसको दाजु हिरण्यकश्यपु प्रतिषोधको भावनाले जलेको थियो।

पहिले आफु शक्तिशाली बनेर अनि मात्र बिष्णुसँग जुध्ने उसले सपना बोकेर ब्रह्माका नाममा कठोर तपस्यागर्न भनी घर छोडेर बाहिर गयो। उ तपस्यामा लीन हुँदाको पहिलो दिनमा नै उसका चारैतिरबाट बिभिन्न चरा–चुरुङ्गीहरुले नारायण! नारायण!! नारायण!!! भन्दै चिर्बिराउन थालेछन।

यसरी उसले आफ्नो रिष उठेको बिरोधी बिष्णुको नाम सुन्नपर्दा मनमनले आज तपस्या शूरु गर्ने साईत राम्रो रहेनछ भन्ने सम्झेर उ आफ्ना घर गयो। उसकी धर्मपत्नी कयादुले भनिन–हे महाराज तपाईं त तपस्या गर्न भनेर जानुभएको यतिछिट्टै फर्कनु भयो त। के भयो ? यो सुनी हिरण्यकश्यपुले भन्यो–हे प्रिया म तपस्यागर्न बसेको थिए, त्यतिबेला त्यहाँमेरा वरिपरिबाट चराहरुले मेरा शत्रुको नाम नारायण!नारायण!! भनेर मेरो तपस्यामा बाधा पुर्याए।

यो सबै साईत राम्रो नभएका कारणले होला भन्ने मैले सोचेर यसरी घर आएको हुँ । रात बित्दै गएछ,पति–पत्नीको सहबासको क्षण शूरु हुन लागेछ। ठीक यसै समयमा कयादुले तपस्यामा लीन भएर बस्दा तपाईंलाई चराहरुले के भने रे ? भनी बारम्बार सोध्नी र हिरण्यकश्यपुले बारम्बार नारायण!नारायण!! भन्दै गर्ने गर्दा लगभग १०० पटक भन्दापनि बढी नारायणको नाम पुकार गर्ने काम भएछ। त्यस रात कयादु गर्भवती भयिछन, हिरण्यकश्यपु भोलिपल्ट तपस्याका निम्ति घरबाट बाहिर हिँडेछन।

त्यसपछिका धेरै समयसम्म देवर्षी नारदले कयादुलाई धर्म, दर्शन र ज्ञान सम्बन्धी धेरै उपदेशहरु दिएका र ती सबैलाई गर्भमा रहेका प्रह्लादलेपनि सुनेर आफ्नी आमाको गर्भदेखि नै उनी भगवत भक्तिमा प्रबृत हुन सकेका थिए भन्ने शास्त्रीय मान्यता छ।

कयादु धर्मपरायण र एक पतिभक्त नारीपनि थिइन । देवर्षी नारदकै रेखदेख र संरक्षकत्वमा उनले एक तेजस्वी बालकको जन्म दियिन जसको नाम नारदले प्रह्लाद राखिदिए । नारदकै संरक्षकत्वमा प्रह्लादको लालन–पालन,शिक्षा–दिक्षा,आदि सम्पन्न भएको थियो । किनकि त्यसबेला हिरण्यकश्यपु ब्रह्माको तपस्यामै तल्लीन थिए। प्रह्लाद सानै उमेरदेखि एक सच्चा तपस्वी र बिष्णुभक्त थिए ।

हिरण्यकश्यपु ब्रह्माबाट बरदान प्राप्त गरेर आएपछि उनले आफुलाई पहिलेको भन्दा कैयौं गुणा बढी शक्तिशाली भएको भन्दै उनलाई सबैले भगवान भनेर मान्ने भनी आफ्नो राज्यभरी घोषणा गराए ।

संसारमा आफू बाहेर अर्को कोही भगवान नभएको र जहाँसुकैका देवालयहरु र मन्दिरहरुमा हिरण्यकश्यपुको प्रतिमा राखेर त्यसैलाई देवता मानेर सबैले पूजा गर्नुपर्ने उर्दी जारी गरियो। बालक प्रह्लाद ४–५ वर्षको भएपछि देवर्षी नारदको कुटीबाट हिरण्यकश्यपु राजाले आफ्नो दरबारमा पत्नी र छोरा दुबैलाई ल्याए।

प्रह्लादलाई दैंत्य जातिको शिक्षाका निम्ति दैत्यगुरुकुलमा पठायियो जहाँ भगवान हिरण्यकश्यपु हुन भनेर पढाई हुने गर्थ्यो। यस्तो शिक्षा र स्वयं उनकै पिता हिरण्यकश्यपुलाई भगवान मानेर पढाईने स्कूल प्रह्लादलाई पटक्कै मन परेन। त्यहाँका कुनैपनि क्रियाकलाप प्रह्लादलाई मन पर्दैनथे।

शिक्षकहरु उनलाई सम्झाउन नसकेर वाक्क–दिक्क हुन्थे। बरु प्रह्लाद स्वयंले अरु सबै बाल–बालिकाहरुलाई बिष्णुभक्त बनाउन सफल हुँदै गए। प्रत्युत्तरमा प्रह्लादले शिक्षकहरुलाई भन्ने गर्थे–यस धरतीमा ईश्वर केवल नारायण मात्र छन। मैले मेरा पितालाई ईश्वरसमान सम्मान गर्छु, तर ईश्वर भनेर उहाँलाई मान्न सक्दिन। उहाँ आफैले आफुलाई ईश्वर हुँ म भनेर भन्नु मूर्खता हो।

बिष्णु भगवान बाहेक यहाँ अर्को दोश्रो ईश्वर कुनैपनि छैन।हिरण्यकश्यपुलाई आफ्नो छोरा प्रह्लादको बिषयमा जब सबैकुरा थाहा भयो, तब उनले प्रह्लादलाई मार्नका निम्ति धेरै किसिमका प्रयासहरु गरे, तर प्रह्लाद बिष्णु भगवानको संरक्षकत्वमा भैसकेका हुनाले उनलाई मार्न चालिएका सबै प्रकारका प्रयासहरु बिफल भए।

हिरण्यकश्यपु आफ्नो एक मात्र बिरोधी छोरा प्रह्लादसँग दिन–पतिदिन झन–झन बढ्ता रुष्ट हुँदै गए। आफ्नो परम शत्रु बिष्णुको आफ्नै छोरा प्रह्लाद परम भक्त भएको यस्तो अवस्था देख्दा हिरण्यकश्यपुलाई पटक्कै सह्य हुन सकेन। उनले आफ्ना मनमा आफ्नै छोरा प्रह्लादलाई कसरी मार्न सकिएला भन्ने बारेमा मात्र चिन्ता लियिरहन्थे।

एक पटक उनले आफ्नी बैनी होलीकालाई राजदरवारमा बोलाए। होलीकाले एक समयमा अग्निदेवको नाममा तपस्या गरेर उनबाट उनको शरीर अग्निले जलाउन नसक्ने बरदान पाएकी थिइन। आफ्नै दाजु हिरण्यकस्यपुलाई बिश्वास दिलाउनका निम्ति होलीकाले राजदरबारमा आफ्नो बरदानी शक्तिको एक पटक प्रदर्शन पनि गरेकी थिइन।

आगोबाट नजल्ने बरदान पाएर उन्मत्त भएकी बैनी होलीका र देवता, दानव, मानव आदि कोहीबाट पनि नमर्ने बरदानले मात्तिएका दाजु हिरण्यकश्यपु बीच ब्यापक छलफल गरेर प्रह्लादलाई मार्ने योजना बनाइयो। एक अग्नी मण्डप तयार पारियो, होलीकाले प्रह्लादलाई आफ्नो साथमा लिएर अग्नी प्रवेश गर्ने सर्वसम्मत निर्णय भयो। होलीका र प्रह्लाद दुबै अग्नीमा प्रवेश गरे।

होलीकालाई अग्नीले जलाएर भष्मगरी दहन गरिदियो, बिष्णुभक्त प्रह्लादलाई अग्नीको रापले छुनपनि सकेन। अग्नीदेवबाट बरदान पाएकी आफ्नी बैनी होलीकालाई यसरी अग्निले जलाएर भष्मगरी मारेपछि हिरण्यकश्यपु आक्रोसित हुँदै अग्निदेवलाई भने – हे अग्निदेव, तिम्रो बरदानको शक्ति यहि हो ? मलाई स्पष्टिकरण दिनुपर्यो। यो सुनेर अग्निदेवले भने–हे महाराज मैले होलिकालाई त्यतिबेलै भनेको थिए–यो बरदान लोककल्याण र आफ्नो आत्मरक्षा गर्ने कार्यमा मात्र प्रयोग हुनुपर्ने छ।

यदि तिमीले यो बरदान कसैको अहितमा प्रयोग गर्न खोजेमा यसले काम गर्ने छैन। यहाँ होलीकाले प्रह्लादलाई मार्ने उदेश्य लिएर अग्नीमा प्रवेश गरेकी हुनाले आफूले पाएको बरदान आफैका निम्ति घातक हुन गएको हो। यहाँ सत्यको जीत र असत्यको हार अर्थात सच्चा भगवानको जीत र कच्चा भगवानको हार अर्थात नकारात्मक शक्तिको दहन, सकारात्मक शक्तिको संरक्षण भएको हो भन्ने खालको शिक्षा यो घटनाबाट पाउन सकिन्छ।

उक्त होलीका दहन भएको दिन फाल्गुणमास शुक्लपक्षको १५ औं तीथिको दिन परेको रयसरी दुरात्मा भएकी होलीकाको दहन र ईश्वरभक्त प्रह्लादको संरक्षण भएको यो दिन भएको हुनाले त्यसै समयदेखि यस धरतीमा सत्य, धर्म, खुशी, आनन्दको सन्देश छिरल्दै एक–आपसमा जुटेर रमाईलो गर्ने, रङ् खेल्ने, उत्सब मनाउने गरिंदै आएका तथ्यहरु बिभिन्न पुराणहरुमा भेटिन्छ।

पछि बिष्णु भगवनले नरसिंह अवतार धारण गरेर अहङ्कारी हिरण्यकश्यपुको बधगरी आफ्ना भक्त प्रह्लादलाई त्यसै राज्यको राजा बन्ने अबसर दिएका द्रिष्टान्तहरु पनि शास्त्रहरुमा प्रशस्त पाईन्छन। बिष्णुभक्त प्रह्लादले आफ्ना एक्काईस कुलहरु तारेको तथ्य पनि हाम्रा शास्त्रहरुमा छन।

अन्त्यमा बिश्वबन्धुत्वको भावना जाग्रित गराउँदै राज्यको सर्बोपरि हितलाई ध्यानमा राखी हाल राज्यका सरकार प्रमुख र सहायकहरु आपसिक मनमुटाब बिर्सेर एकजुट भै अगाडि बढ्नसक्ने यस फागुपूर्णिमाले सबैलाई सद्बुद्धि प्रदान गर्न सकोस, मेरो सबै बन्धुहरुप्रति यहि सादुभाव। अस्तु !