Aafno Khabar

दुई वर्षपछि खुल्यो अस्ट्रेलिया

  • आफ्नो खबर
  • २०७८ फाल्गुन ९ गते ०८:१९ प्रकाशित

कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।

अस्ट्रेलिया सरकारको यो निर्णयसँगै आज अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले यात्रा प्रतिबन्धमा निकै कडा नियम लागु गरेको थियो । अस्ट्रलियाको पछिल्लो निर्णयसँगै खोपको पूर्ण मात्रा लगाएका यात्रु क्वारन्टीनमा बस्नुपर्ने छैन ।

तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने छ । मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् । सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए ।