Aafno Khabar

एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाण

  • आफ्नो खबर
  • २०७८ पुष ७ गते ११:३५ प्रकाशित

धनुषा । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना एमसिसी प्रक्रिया अगाडि बढ्ने बताएका छन्। उनले यो सरकारको दायित्व रहेको पनि बताए।

जनकपुरधाममा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले संसदबाट एमसिसी पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको भन्दै छलफलको निष्कर्षपछि परियोजना अगाडि बढ्ने बताए।

उनले यसअघिका सरकारकै पालामा एमसिसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइएको बताए। वर्तमान सरकारले यसलाई अगाडि बढाएर पास गराउनु सरकारकै दायित्व हुने उनको भनाइ छ।

उनले भने–‘एमसिसी पूर्ववर्ती सरकारकै पालामै अगाडि बढेको हो। यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडि बढाएको हो।

नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो। त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो।’

अमेरिकी सरकारले एमसिसीमार्फत नेपालमा गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेबाहेक अन्य उद्देश्य नरहेको उनले प्रष्ट पारे। सबै राजनीतिक दलहरुको सहमति एवं सहाकार्यबाट नै एमसिसी प्रक्रिया अगाडि बढ्ने उनले बताए।