Aafno Khabar

सरकार जोगाउन थपिएका मन्त्रालयको न काम न बस्ने ठाम

  • आफ्नो खबर
  • December 21, 2021 प्रकाशित

मकवानपुर । सरकार जोगाउनका लागि बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय थपेसँगै मन्त्रालयको सेवा सुविधाबाहेक प्रत्यक्ष रूपमा वार्षिक करिब डेढ करोड रुपैयाँ अनावश्यक खर्च बढ्ने भएको छ ।

नयाँ सरकार गठनसँगै थपिएका मन्त्रालयका लागि तत्काल ३० वटा सवारी खरिद गर्ने मन्त्रालयगत रूपमा तयारी भइरहेको छ । अहिले ३० वटा सवारी खरिद गर्दा करिब १८ करोड रुपैयाँ थप खर्च हुने देखिएको छ ।

थप गरिएका मन्त्रालयमा भत्ताबाहेक तलब, घर भाडा र इन्धनमा मासिक थप १० लाख रुपैयाँभन्दा बढी खर्च हुनेछ । यसबाहेक मन्त्रालयको प्रशासनिक कार्य, भत्ता, अतिथि सत्कार, थप कर्मचारी र मन्त्रालय व्यवस्थापनमा खर्च हुनेछ । ६ मन्त्री र एक राज्यमन्त्रीको सेवा सुविधामा प्रदेश सरकारको अब थप मासिक ९ लाख ३४ हजार २ सय ९० रुपैयाँभन्दा बढी खर्च हुनेछ ।

पर्याप्त अध्ययन र तयारीबिनै धमाधम मन्त्रालय विभाजन गरेपछि मन्त्रालय र मन्त्री बस्ने ठाउँको अभाव भएको छ । मन्त्री क्वार्टर, कार्यालय र महाशाखाका लागि आवश्यक भवन खोज्न मन्त्रालयका सचिवहरूको दौडधुप देखिन्छ ।

कृषिमन्त्री र राज्यमन्त्री बस्ने सरकारी क्वार्टर नहुँदा उनीहरूलाई भाडाको घरमा राखिएको छ । जसमा मन्त्रीका लागि मासिक २७ हजार र राज्यमन्त्रीका लागि मासिक २५ हजार रुपैयाँ घर भाडामा खर्च हुनेछ । वन तथा वातावरणमन्त्री र खानेपानी तथा सिँचाइमन्त्रीका लागि पनि बस्ने सरकारी क्वार्टर नहुँदा घर भाडामा ५४ हजार रुपैयाँ खर्चभार प्रदेश सरकारलाई थपिने निश्चित छ ।

सामाजिक विकास मन्त्रालयबाट विभाजन गरेर बनाइएको युवा तथा खेलकुद विकास मन्त्रालय राख्ने सरकारी कार्यालय नहुँदा भाडाको घरमा बसिरहेको छ ।

मन्त्रालयको भाडा मासिक ६५ हजार रुपैयाँ रहेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालय हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसिरहेको भए पनि ठाउँ अभावमा भाडाको घरमा बस्नुपर्ने अवस्था आएको छ । यातायात मन्त्रालय पनि त्यहाँबाट अन्यत्र भाडाको घरमा सर्दा मासिक ६० हजार रुपैयाँसम्मको अर्को खर्च थपिने निश्चित छ ।

मन्त्रालय थपिएसँगै मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रालयबाहेक १२ वटा मन्त्रालयलाई करिब ३० वटा गाडी खरिद गरिने भएको छ । करिब ६० लाख रुपैयाँ दरका सवारी खरिद गर्ने तयारी भइरहेको छ । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयलाई फोरेर बनाइएका ३ वटा मन्त्रालयका लागि १० वटा गाडी आवश्यक परेको बताइएको छ । वन तथा वातावरण मन्त्रालयलाई २ वटा, उद्योग मन्त्रालय र पर्यटन मन्त्रालयलाई ४–४ वटा गाडी आवश्यक छ ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालय फुटेर कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनेको छ । कृषि मन्त्रालयलाई २ वटा, भूमि व्यवस्था मन्त्रालयको महाशाखाका लागि ३ वटा गरी ५ वटा सवारी आवश्यक परेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भएर बनेको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि थप ९ वटा गाडी आवश्यक परेको छ ।

सामाजिक मन्त्रालयलाई २ वटा र युवा तथा खेलकुद विकास मन्त्रालयका लागि ३ वटा गाडी आवश्यक परेको छ । स्वास्थ्य मन्त्रालयले एउटा गाडी खरिद गर्नका लागि टेन्डर नै आह्वान गरिसकेको छ ।