Aafno Khabar

बागलुङको एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण

  • राजन पौडेल
  • २०७८ मंसिर १८ गते १०:४३ प्रकाशित

पर्वत । बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
कार्यालयका अनुसार सय जनामा गरिएको एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो । सोही ठाउँमा अन्य स्थानीयलाई पनि संक्रमण लक्षण देखिएकाले पीसीआर संकलन गरेर परीक्षणको तयारी भइरहेको छ ।

कोभिड पुष्टि हुनेमा अधिकांश १७ वर्ष मुनी उमेर समूहका रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । घिमिरेले विद्यालयका विद्यार्थी, शिक्षक र केही समुदायमासमेत कोरोना संक्रमण देखिएकाले हाल वडाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।