Aafno Khabar

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

  • आफ्नो खबर
  • २०७८ मंसिर १७ गते २२:०६ प्रकाशित

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो । विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लबले एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि तेस्रो गोल गरे ।

खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ ।